२०८२ असार २३ गते देशैभरीका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा इमर्जेन्सी बाहेकका सेवा बन्द हुने भएका छन् । नेपाल चिकित्सक संघ लगायतका संस्थाहरुको आव्हानमा सेवा बन्द हुन लागेका हुन् ।
संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले इमर्जेन्सी (आकस्मिक) बाहेकका सबै सेवा बन्द हुने बताउनुभयो । उहाँका अनुसार नियमित हुने शल्यक्रिया, ओपिडि (बहिरंग) लगायतका कार्य पनि बन्द रहने छ । सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्था सबै बन्द रहने उहाँले बताउनुभयो ।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतले हालैका दिनमा प्रेषित गरेका फैसलाहरु नेपाल सरकारको अर्ध न्यायिक निकायको रुपमा रहेको नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारसँग बाँझिएको निष्कर्ष सहित चरणबद्ध आन्दोलन गरिरहेको छ । संघले चिकित्सकीय अभ्यास सम्बन्धी विषयको मुद्दाहरु काउन्सिलले हेर्नु पर्ने जनाउँदै आएको छ ।
संघका महासचिव डा. सन्जिव तिवारीले चिकित्सकद्वारा उपचारको क्रममा त्रुटी भएमा उजुरी हेर्ने जिम्मेवार संस्थाको रुपमा नेपाल मेडिकल काउन्सिल रहेकोले यस्ता मुद्दाहरु काउन्सिल मार्फत् नै अगाडि बढाउनु पर्ने संघको माग रहेको बताउनुभयो ।
संघले उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संशोधनका लागि दवाव दिन संघर्षका कार्यक्रमहरु घोषणा गरेको हो । संघले नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सबै समस्याहरू समाधान गर्न स्पष्ट धारणा र कार्ययोजना ल्याउन पनि माग गरेको छ।
नेपाल चिकित्सक संघको आन्दोलनमा निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरु, नेपाल नर्सिङ संघ, नेपाल फार्मेसी संघ, नेपाल औषधि उत्पादक संघ लगायत स्वास्थ्यसँग सम्बद्ध संघ संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् ।
असार २२ गते आइतबार चिकित्सकहरु देशैभरीका अस्पतालहरुमा एक घण्टा धर्ना दिएका थिए ।





















