काठमाडाैं । नेपाली सेनाको कल्याणकारी कोषमा भएको भ्रष्टाचारमा दुई वरिष्ठ सैनिक अधिकारी बर्खास्त भएका छन् ।
फर्जी कर्मचारी खडा गरी उनीहरूको नाममा चेक काटेर कोषको सवा २ करोड रकम भ्रष्टाचार गरेकोमा सहायक रथी रोशन खड्का तथा सेनानी बोधराज कार्की बर्खास्त भएका छन् । सैनिक बिशेष अदालतले बिहीबार उनीहरूलाई बर्खास्त गरी हिनामिनावापतको रकम तिराउने फैसला गरेको हो ।
सैनिक ऐन २०६३ को दफा १०१ अनुसार उनीहरुलाई बर्खास्त गर्ने फैसला भएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए । उनीहरुरूबाट २ करोड २१ लाख ८५ हिनामिना भएको थियो । यस हिनामिनामा संलग्न दुई पूर्वसैनिकलाई भने प्रहरीमार्फत यसअघि नै मुद्दा चलाइएको थियो । प्रहरीमार्फत मुद्दा दायर गरिएका पूर्वजमदार आत्मराम थापा हाल पुर्पक्षका लागि कारागारमा छन् ।
त्यस्तै, पूर्वसेनानी लक्ष्मण अधिकारी भने अमेरिका पुगेका छन् । चार जनाको मिलेमतोमा कोषको रकम दुरुपयोग भएको आन्तरिक छानविनमा खुलेको हो ।
२०७३ देखि २०७५ सालसम्म उनीहरुले योजनाबद्ध रुपमा अवकाशमा गएको सैनिकको विवरण थपेर चेक काटी रकम हिनामिना गरेका हुन् । पछिल्लो समय बैंकिङ प्रणालीमार्फत यस्तो सुविधा दिने गरिएकाले हिनामिना हुने सम्भावना रहेको सैनिक अधिकारीले बताएका छन् ।





















