चितवन – ४७ औँ विश्व धुम्रपान रहित दिवसको अवसरमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले वक्तृत्वकला प्रतियोगिता गरेको छ ।
शुक्रबार अस्पतालमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सुर्तीजन्य पदार्थको हानिकारक प्रभाव र रोकथामबारे प्रभावशाली प्रस्तुति दिएका हुन् ।
“सुर्तीजन्य उद्योगको आकर्षण चाल, प्राणघातक असर चिनौँ, यो मोहजाल“ नाराका साथ आयोजित यो कार्यक्रममा विद्यार्थीहरूले सुर्तीजन्य पदार्थको लतबाट युवा पुस्तालाई जोगाउन र सचेतना फैलाउन जोड दिए।
प्रतियोगितामा सनराइज आवासीय माध्यमिक विद्यालयकी सजिना खड्काले प्रथम, राष्ट्रिय माध्यमिक विद्यालयका मोहन प्रजाले द्वितीय र बाल्मिकी शिक्षा सदनकी एलिसा केसीले तृतीय स्थान हासिल गरे । निर्णायक मण्डलले सबै सहभागीको प्रस्तुतिलाई उत्कृष्ट भन्दै प्रशंसा गरे र उनीहरूको सचेतनामूलक सन्देशलाई समाजमा फैलाउन प्रोत्साहन गरेका थिए । यस्तै उत्कृष्ट तीनलाई क्रमश पाँच, तीन र दुई हजार रुपैँया पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाल अबुर्द रोग निवारण संघ चितवनका पूर्वअध्यक्ष गोविन्द पौडेल, भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा सदस्य अमृता गौतम, र मनोसामाजिक परामर्शदाता पवि खड्का कार्की निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार, विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु धुम्रपानको कारणले हुन्छ, जसमध्ये नेपालमा २४ हजार एक सय जनाले ज्यान गुमाउँछन् । कार्यक्रममा प्रतियोगी विद्यार्थीहरुले सुर्तीजन्य उद्योगहरूले युवाहरूलाई आकर्षित गर्न प्रयोग गर्ने भ्रामक विज्ञापन र रणनीतिहरूको पर्दाफास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले युवा पुस्तालाई सुर्तीजन्य पदार्थको लतबाट जोगाउन र सचेतना फैलाउन आवश्यक रहेको औल्याउनुभयो ।
यो कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्वको भावना विकास गरेको र सहभागिता नै ठूलो रहेको उहाँको भनाइ थियो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले क्यान्सरको उपचारभन्दा रोकथाममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ “हाम्रो अस्पताल सातै प्रदेशमा स्क्रिनिङ र जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। विशेष गरी मुख र स्तन क्यान्सरको रोकथाममा ध्यान दिइएको छ। युवा पुस्तालाई सुर्तीजन्य पदार्थको लतबाट जोगाउन र सचेतना फैलाउन आवश्यक छ।”
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले क्यान्सर हुनबाट जोगाउन धुम्रपान प्रमुख कारक रहेकाले रोग लाग्न नदिनु नै सबैभन्दा ठूलो कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘हामी सबै मिलेर परिवार, समाज, र राष्ट्रलाई धुम्रपानमुक्त बनाउनुपर्छ । यो अभियानमा विद्यार्थीहरूको सहभागिता प्रेरणादायी छ ।”
कार्यक्रमकी संयोजक तथा अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण, र अनुसन्धान विभागका सुपरभाइजर नर्स अयोध्या पाठकले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै क्यान्सर रोकथाम र सुर्तीजन्य पदार्थको प्रयोगविरुद्ध अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागी विद्यार्थी, शिक्षक, र आयोजक टिमलाई धन्यवाद दिँदै धुम्रपानमुक्त समाज निर्माणमा सबैलाई योगदान पु¥याउन उहाँले आह्वान गर्नुभयो ।





















