मकवानपुर । राष्ट्रिय सभा अध्यक्षका नारायणप्रसाद दाहालले स्थानीय तहको अधिकार स्थापित गर्न राष्ट्रिय सभा लाग्ने बताएका छन् । उनले संविधानमा भएका कतिपय व्यवस्था अझै कार्यान्वयनमा नआएको भन्दै स्थानीय तहको संविधानमा भएका अधिकार दिलाउन राष्ट्रिय सभा प्रतिबद्ध रहेको बताए ।
संघीय संसद् सचिवालयको आयोजनामा आइतबार हेटौँडामा भएको बागमती प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको अन्तरक्रियामा बोल्दै उनले संघीयता बलियो बनाउन तीनै तहबिच समन्वय र सहकार्यमा जोड दिए ।
सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनभूति पाउने गरी कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले यस्तो छलफल सातै प्रदेशमा हुने र यहाँ उठेका विषयलाई लिपिबद्ध गरिएको बताए । ‘राष्ट्रिय सभा स्थायी संसद हो, संघीयता जोगाउने स्थान हो । संघीयता विरोधीबाट हमला भएको छ, हामीले पनि सशक्त रुपमा प्रतिवाद गरेका छौँ’, उनले भने ।
उनले अगाडि भने, ‘स्थानीय तहलाई आवश्यक अधिकतम कानुन बनाउन हामी प्रतिबद्ध छौँ ।’’ कार्यक्रमका बारेमा प्रकाश पार्दै राष्ट्रिय सभा सदस्य गंगाकुमारी वेलवासेले स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको छलफलले नीति निर्माण र कार्यान्वयनमा रहेका दुरी घटाउन सहयोग पुग्ने बताए ।





















