चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भरतपुर अस्पतालमा एमबिबिएसको पढाई शुरु गर्न चिकित्सक शिक्षा आयोगमा प्रस्ताव पठाएको बताउनु भएको छ । भरतपुर अस्पतालको क्याथल्याब लगायतका नयाँ सेवाहरुको आज शुभारम्भ गर्दै मन्त्री पौडेलले शैक्षिक कार्यक्रम मन्त्रालयको अधिकार क्षेत्रभित्र मात्रै नहुने बताउनु भएको हो ।
उहाँले एमविविएस कक्षा यसै वर्षदेखि सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो “एमबिबिएस कार्यक्रम एकेडेमिक कार्यक्रम हो । स्वास्थ्य मन्त्रालयसँग मात्रै हैन चिकित्सा शिक्षा आयोगसँग सम्वन्धित कार्यक्रम हो ।” अघिल्लो वर्ष आयोगले नै स्विकृत नदिंदा भरतपुर अस्पतालले एमबिबिएस पढाउन नपाएको उहाँको भनाई थियो । उहाँले अगाडि थप्नुभयो “यो वर्ष हामीले अहिले नै आयोगलाई पत्र लेखेर अनुमति मागि सकेका छौँ ।”
विगतमा प्रतिष्ठान नहुँदा भरतपुरले एमविविएस कार्यक्रम नपाएको पनि उहाँले खुलाउनु भयो । तर यो वर्षदेखि प्रतिष्ठान नभए पनि मन्त्रालयकै पहलमा भरतपुरमा एमविविएस सञचालन हुने उहाँले विश्वास दिलाउनुभयो ।
अहिले रहेका प्रतिष्ठानहरुलाई पनि एकीकृत ऐन बनाएर सञ्चालन गरिने योजना सरकारको रहेको पनि उहाँले बताउनुभयो । “अब हरेक प्रतिष्ठानमा भिसि रजिष्टार होइन, एउटै भिसी र रजिष्टारले काम गर्ने र सम्वन्धित अस्तपातालहरुमा निर्देशक वा डिन राखेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसले खर्च कम गर्छ ।” एकीकृत प्रतिष्ठान ऐन पास भयो भने यस्ता पूर्वाधार पुगेका अस्पतालहरुमा एमविविएस सञ्चालन गर्न सजिलो हुने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै वागमती प्रदेश सरकारका पूर्व स्वास्थ मन्त्री उत्तम जोशीले भरतपुर अस्पतालको स्तर विकासमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले यो वर्ष भरतपुरमा मृगौला प्रत्यारोपण र एमविविएस कार्यक्रम जसरी पनि चालाउन स्विकृत दिनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालमा जनशक्ति कम भएकाले वढाउन मन्त्री समक्ष माग गर्नुभयो । उहाँले अस्पतालको क्याथल्याव सञ्चालनकालगि मात्रै १३ करोड १७ लाख रुपैयाँ खर्च लागेको जानकारी दिनुभयो ।
सुपरिटेण्डेन्ट प्रा डा. पौडेलले संघीय सरकार र अस्पताल विकास समितिको संयुक्त लगानीमा क्याथल्याव सेवा शुरु गरिएको जानकारी दिनुभयो । यो सेवाकालगि अस्पतालले ४ जना चिकित्सक सहित २२ जनाको टिम परिचालन गरेको छ । यसको अलवा स्तनपानलाई प्रर्वधन गर्न ल्याक्टेशन म्यानेजम्यान्ट युनियट, शल्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रशिक्षणकालागि सिमुलेशन ल्याव पनि अस्पतालले सञ्चालनमा ल्याएको छ ।
भरतपुर अस्पतालमा क्याथल्याब सेवा शुरु भएको छ । आईसियू सहितको जलन वार्ड, फटिलिटी क्लिनिक, स्तनपान प्रर्वधन कार्यक्रम, चाइल्ड प्ले थेरापी, योगा ध्यान केन्द्र लगायतका सेवाहरु सञ्चालनमा ल्याईएको हो ।






















