काठमाडौं । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनलाई लिएर नेपाल चिकित्सक संघ (एनएमए)ले थप आन्दोलन घोषणा गरेको छ। शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको हो।
बिहिबार माइतिघर मण्डलामा आन्दोलन र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग गरिएको संवादबाट निकास ननिस्केपछि थप आन्दोलनका कार्यक्रम अघि सारिएको हो।
केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिने बताइएको छ।
एनएमएले २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी समेत दिइएको थियो।
चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो। उक्त निर्णय भूतप्रभावी नहुने भन्दै निजी मेडिकल कलेजले कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन्।






















