काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी बालुवाटार निकट स्रोतले जानकारी दियो ।
विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन जारी राखेपछि मन्त्री भट्टराईले राजीनामा दिएको स्रोतको भनाइ छ। मन्त्री भट्टराईले भने मन्त्रालयका अधिकारीसँग आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन्।
उनले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा बस्न तयार भएका छैनन्। विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि शिक्षकहरूले दिँदै आएका छन्।





















