विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाहको पक्षमा हुने प्रदर्शन आन्दोलन नभई अपराध रहेको बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित ढंगले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले ठुला दलप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला विभिन्न निर्वाचनले देखाएको उल्लेख गरे । ‘स्ववियु निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट हुन्छ’, उनले भने ।
उनले राजनीतिक दलमा उपचार आवश्यक रहेको बताउँदै आन्दोलनका बेलामा जस्तो पार्टी फ्रेस नभएको उल्लेख समेत गरेका छन् । अध्यक्ष प्रचण्डले संविधानमा समीक्षा गर्नु आवश्यक र उपयुक्त बेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको पनि बताएका छन् ।
संविधान जारी गर्दा दलहरूबीच दश वर्षपछि समिक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उनले त्यसको समय अब आएको बताए । तथापि, संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने स्पष्ट पारे ।
‘संविधानको समीक्षा गर्दा एउटा शर्त रहन्छ । हामी पछाडि फर्किनका लागि समीक्षा गर्ने होइनौं । हामी अगाडि बढ्नका लागि समीक्षा गर्ने हो । जनताले प्राप्त गरेका उपलब्धिहरू खोस्नका लागि होइन, ती उपलब्धिहरू थप बलियो बनाउन, विस्तार गर्न र परिमार्जन गर्नका लागि समीक्षा गरिन्छ,’ उनको भनाइ थियो ।
शनिबार सम्पन्न तीन दलबीचको छलफलमा आफूले आन्दोलनको परिभाषा निर्धारण गर्नु आवश्यक रहेको कुरा उठाएको जानकारी उनले दिए । ‘तीन दलको बैठकमा मैले भनेको थिएँ– आन्दोलन भन्नाले के बुझिने ? विद्रोह के हो ? के हो र के होइन भन्नेमा स्पष्ट परिभाषा आवश्यक छ । एउटा साझा व्याख्या आवश्यक छ,’ उनले भने ।
‘यदि कसैले लोकतन्त्र, गणतन्त्र, र इमान्दारिताका साथ अघि बढ्ने प्रयत्न गर्दछ भने त्यो आन्दोलन हो, त्यसलाई संरक्षण गरिनुपर्छ । तर, यदि कसैले लोकतन्त्रको विरोधमा, निरंकुशता र तानाशाहीका पक्षमा आवाज उठाउँछ भने त्यो आन्दोलन कहलिन सक्दैन । त्यो अपराध हो, समाजविरुद्धको गतिविधि हो ।’
उनले कुन गतिविधि आन्दोलन हो ? कुन आपराधिक वा इतिहासविरुद्धको हो ? कुन जनताको आवश्यकतासँग मेल खान्छ? भन्ने विषयमा गणतन्त्रवादी दलहरूले स्पष्ट दृष्टिकोण लिनुपर्नेमा जोड दिए । ‘एकल परिभाषाका आधारमा आन्दोलन, विद्रोह, क्रान्ति भन्ने शब्दहरूको प्रयोग गरिनु हुँदैन ।
यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री केदार कार्की, भौतिक पूर्वाधार विकाश मन्त्री भूपेन्द्र राईले व्यवस्था रक्षाका लागि एकजुट हुनुपर्ने र जनता र संविधानका पक्षमा रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।





















