काठमाडाैं । आन्दोलनरत शिक्षकको माग पुरा गरी बन्द भएकाे पठनपाठन सुरु गर्न र परीक्षाको वातावरण बनाउन अभिभावक संघ नेपालले माग गरेकाे छ ।
संघले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्दै १२ कक्षाको परीक्षाकाे वातावरण बनाउन आग्रह गरेको हाे ।आइतबार राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाउँदै अभिभावक संघले विद्यार्थीको पढ्न पाउने अधिकार हनन भएको बताएको हो ।
आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्नाजस्ता कुरा प्रभावित भएको संघले जनाएको छ ।
‘शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी छ । शिक्षकका जायज मागहरू तत्काल पूरा गर्नुपर्छ भन्ने कुरामा किन्तु, परन्तु हुन सक्तैन । शिक्षक खुसी भए भने मात्रै कक्षाकोठा रमाउँछ । तसर्थ शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्नहुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा प्रभावित हुन सक्नेतर्फ आयोगको ध्यानाकर्षण गराउँदै संघले भनेको छ, ‘तत्काल आमशिक्षकहरूका समस्याको हल गरेर सामुदायिक विद्यालयहरू सञ्चालनमा आउन सक्ने, विद्यार्थीहरूका पठनपाठन हुन सक्ने, १२ कक्षाको राष्ट्रिय परीक्षा हुने शान्तिपूर्ण वातावरण मिलाउन आमअभिभावक तथा विद्यार्थीहरूका तर्फबाट जोडदार मागसमेत गर्दछौँ ।’






















