यो चीजको एक केजीको मूल्य सर्बियामा कुनै व्यक्तिले हात पार्ने औसत मासिक तलबभन्दा बढी छ। गधाको दूधबाट बनाइने ‘प्यूल चीज’को मूल्य १,२०० यूरो अर्थात् एक लाख ८० हजार नेपाली रुपैयाँभन्दा बढी पर्छ। यो दुर्लभ खाद्यपदार्थ राजधानी बेल्ग्रेडबाट झन्डै ८० किमि पश्चिममा अवस्थित जासाभिचा प्रकृति आरक्षमा मात्र किन्न पाइन्छ।
“एक केजी चीज बनाउन गधाको २५ लिटर दूध चाहिन्छ। एउटा गधालाई त्यति दूध दिन डेढ वर्ष लाग्छ,” उक्त आरक्षका प्रबन्धक भुक सिमिचले भने।
तर प्यूल चीज सबैभन्दा महँगो चीज भने हैन। अहिले सबैभन्दा महँगो चीजको शीर्षस्थानमा स्प्यानिश काब्रालेस ब्लू चीज छ। गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार सन् २०२४ मा उक्त चीजको २.५ केजी ३६ हजार यूरोमा बिक्री भएको थियो। त्यस हिसाबले एक केजीको मूल्य १,४४० यूरो पर्यो अर्थात् दुई लाख १६ हजार नेपाली रुपैयाँभन्दा बढी।
प्यूल चीजको विशेषता
प्यूल चीजलाई किन विशेष मानिन्छ त ? त्यसमा हुने रहस्यमय तत्त्वबारे सोध्दा निकोला निलिच हाँस्दै भन्छन्, “म त्यो तपाईँलाई बताउन सक्दिनँ।” गधाको दूधबाट चीज बनाउने अवधारणा भुक सिमिचका पिता स्लोबोदान सिमिचको हो। उनले पहिलो पटक एक दशकअघि प्यूल चीज बनाउने विचार गरेका थिए। तर गधाको दूध मान्छेको दूधजस्तै हुन्छ, त्यो हतपत बाक्लो हुँदैन।
उनी धेरै पटक विफल भए तर जासाभिचाका खाद्य प्राविधिकहरूले अन्ततः एउटा विधि निखारे। “प्यूल चीजको स्वाद निकै भिन्न छ,” सिमिच भन्छन्, “म त यसको स्वादै महँगो छ भन्छु।”
निकै चर्चा कमाएको भए पनि प्यूल चीज सर्वसाधारण ग्राहकले किन्न पाउँदैनन्, न त यो विदेश निर्यात नै हुन्छ। यो किन्न जासाभिचा नै जानुपर्छ। “हामी एक वर्षमा २५ देखि ३० किलोग्राम चीज मात्र उत्पादन गर्छौँ, त्यसैले यो निकै दुर्लभ बनेको छ,” सिमिच भन्छन्। (बीबीसीबाट)





















