राैतहट । माध्यमिक शिक्षा परीक्षा (एसइई) ०८१ मा अनियमितता रोक्न प्रशासनले कडाइ गरे पनि परीक्षा केन्द्रहरूमा मोबाइल प्रयोग गरी चिट चोरी गर्ने प्रयास रोक्न कठिन भएको छ ।
परीक्षाको तीन दिनमै जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूबाट १२३३ मोबाइल फोन र स्मार्टवाच बरामद भएको हो । पहिलो दिन ४२४ मोबाइल, दोस्रो दिन ३४० मोबाइल र २ स्मार्टवाच, आइतबार तेस्रो दिन ४६९ मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यमुनामाई गाउँपालिकाको एक परीक्षा केन्द्रमा निरीक्षक पक्राउ परेका छन् भने मौलापुरमा चिट पुर्याउने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । दुईजना गार्डलाई परीक्षामा सहयोग गरेको आरोपमा निलम्बन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपककुमार रायका अनुसार परीक्षामा चिट चोरी रोक्न निगरानी थप कडा पारिएको छ । प्रशासनले परीक्षालाई मर्यादित बनाउन थप सुरक्षा रणनीति अपनाउने जनाएको छ ।
























