चितवन – चितवनमा फागुन २७ गते हुने भनिएको ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ स्थगित भएको छ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय राजनितिक परिस्थितीमा आएको फेरबदलका कारण शिर्ष नेताहरु काठमाडौं केन्द्रित हुनुपर्ने भएकाले अभियान स्थगित भएको नेकपा माओवादी केन्द्र चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी ले सान्दार अनलाईन डट कम लाई बताए । चितवनमा फागुन २७ गते हुने भनिएको सो कार्यक्रमको तयारी समेत पुरा भईसकेको थियो ।
राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको माओवादी केन्द्रले समेत जनाएको छ ।
यस अघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो ।
यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।






















