चितवन – स्वास्थ्य बीमाको कार्ड ‘चोरेर’ प्रयोग गर्नेहरु बढ्न थालेपछि भरतपुर अस्पतालले कडाई गर्न शुरु गरेको छ । अरु व्यक्तिको कार्ड प्रयोग गरी उपचार गरेको प्रमाणसहित फेला पर्न थालेपछि अस्पतालले कडाई गरेको हो ।
स्वास्थ्य बीमामा आवद्ध नभएका, आबद्ध भएर निस्क्रिय भएका, परिवारका कोही सदस्यको नाम छुटेका, आफ्नो बीमाको रकम सक्किएकाहरुले अरुको कार्ड प्रयोग गर्ने गरेको पाईएको छ । एउटा कार्डबाट दुई तीन जना बिरामीले औषधि लैजाने गरेको समेत भेटिएपछि अस्पतालले कडाई गरेको जनाएको छ ।
यस्ता घटना अस्पतालले सप्रमाण फेला परेको छ । झण्डै दुई महिना अघि अस्पतालमा शल्यक्रिया गरेर डिस्चार्ज हुँदै गर्दा एक जना बिरामीले अर्कैको स्वास्थ्य बीमा कार्ड प्रयोग गरेको भेटियो । यससँगै ती बिरामीलाई बीमा मार्फत् लिएको सेवा फिर्ता गराएर अस्पतालमा लाग्ने सम्पूर्ण शुल्क तिराएर सचेत गराई डिस्चार्ज गरियो ।
यही बीचमा अर्काे एक बिरामीले शल्यक्रिया गर्नका लागि गाउन (कपडा) फेरिसकेपछि अर्कैको कार्डबाट सेवा लिन लागेको फेला परेपछि उनको पनि सबै शुल्क तिर्न लगाएर सेवा दिईयो । यसरी नियमित जसो अर्काको बीमा कार्ड प्रयोग गरेर सेवा लिने क्रम बढेपछि यसलाई निरुत्साहित गर्न अस्पतालले कडाई शुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल बताउनुहुन्छ ।
उहाँका अनुसार बीमा कार्डको दुरुपयोग बढेपछि कार्डमा फोटो अनिवार्य गरिएको छ । अस्पतालले सूचना जारी गरेर आफ्नो सेवा कार्डमा स्वास्थ्य बीमा दर्ता सहायक मार्फत् फोटो राख्न आग्रह गरेको छ । सूचनामा भनिएको छ “सेवा लिने सेवाग्राहीको बीमा मार्फत् दर्ता गर्ने क्रममा सेवाग्राहीको फोटो सफ्वयरमा नदेखिएमा अस्पताल सेवा दिन बाध्य हुने छैन ।”
दुरुपयोग बढेकै कारण कडाई गरिएको उहाँले बताउनुभयो । अस्पतालले आन्तरिक रुपमा विभागहरुमा कडाई गर्न निर्देशन समेत जारी गर्दै बीमा कार्डसँगै अर्काे सरकारी परिचयपत्र (नागरिकता, राष्ट्रिय परिचयपत्र, लाईसेन्स लगायतका) बाट दोहोरो प्रमाणीकरण गरेर मात्रै बीमा मार्फत् सेवा दिन भनेको छ । कर्मचारीलाई शंका लागेमा अर्काे सरकारी परिचयपत्र समेत मागेर दोहोरो भेरिभाई गर्न भनिएको प्रा.डा. पौडेलको भनाई छ । कतिपय बिरामीले कर्मचारीको मिलेमतोमा यस्तो काम समेत गर्न सक्ने भएकाले कर्मचारीलाई सचेत गराईएको छ ।
यस्तो कार्य गैह्रकानुनी हुने भएकाले कानुनी कारवाही समेत हुन सक्ने उहाँको भनाई छ । मेसु प्रा.डा. पौडेलले भन्नुभयो “अर्काको बीमा कार्ड प्रयोग गर्नु भनेको सरकारी कागजात दुरुपयोग हो, आवश्यक परे मुद्दामा पनि जान सकिन्छ ।”
अस्पतालका बीमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार कार्डको दुरुपयोग गरेको भेटिएपछि पछिल्ला दिनहरुमा अस्पताल प्रशासनले विभिन्न विभागमा कार्यरत कर्मचारीहरुलाई समेत सचेत गराएको छ । पौडेलका अनुसार बीमा सेवा र दावी भुक्तानीमा भरतपुर अस्पताल बोर्डमा आवद्ध अस्पतालहरु मध्येमा अग्रणी रहेको छ । यहाँ चितवन जिल्ला सहित छिमेकी जिल्लाका बिभिन्न पालिकाका बिरामीहरुले बीमाको पहिलो विन्दुको रुपमा दर्ता गराएका छन् । यहाँ २५ भन्दा बढी जिल्लाबाट रिफर भएर बिरामी समेत आउने गर्दछन् ।
दैनिक दुई हजार जनासम्म बीमाका बिरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बीमाका हुने गर्दछन् । अस्पतालमा सबै खालका स्वास्थ्य सेवा गुणस्तरीय रुपमा दिईने भएकाले बिरामीको चाप उच्च हुने गर्दछ ।






















