चितवन । भरतपुर अस्पतालले बिरामीलाई लक्षित गरी निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । फागुन १ गतेबाट अस्पतालले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार भरतपुर अस्पतालबाट मालपोतचोक, केन्द्रीय बसपार्क चोक, हाकिमचोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशालचोक हुँदै पुनः अस्पताल आउने गरी बस सञ्चालन गर्न लागिएको हो । बस बिहान ९ बजेबाट ४ बजेसम्म सञ्चालन हुनेछ ।
अस्पताल आउने बिरामी, बिरामीका कुरुवा तथा आफन्तहरुले निःशुल्क रुपमा बस उपभोग गर्न पाउनेछन् । प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. पौडेलले भन्नुभयो “अन्यत्रबाट आउने बिरामीले राजमार्गबाट अस्पतालसम्म आउँदा जाँदा चर्काे भाडा तिर्नुपर्ने बाध्यता र कतिपयलाई अस्पतालसम्म कसरी पुग्ने भन्ने जानकारी समेत नहुने हुँदा यो सेवा शुरु गरेका हौं ।”यो सेवासँगै अस्पताल आउने र अस्पतालबाट जाने बिरामी र आफन्त लाभान्वित हुने उहाँको भनाई छ ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलका अनुसार अस्पतालको नर्सिङ कलेका लागि सञ्चालन हुँदै आएको बसलाई बिरामी सेवामा प्रयोग गर्न लागिएको बताए । नर्सिङ कलेजका लागि भने थप नयाँ बस ल्याईने तयारी भएको छ । केही दिनभित्रै अर्काे नयाँ बस आउने उहाँले जानकारी दिनुभयो ।
बस सेवा सञ्चालनसँगै कतिपय चिकित्सक, कर्मचारीहरुलाई पनि सहजता हुने अध्यक्षले बताउनुभयो ।
























