संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलिया कार्यकक्षमै कुटिएका छन् । प्रहरीका अनुसार खाँदबारी नगरपालिका–९ का वडाध्यक्ष विमलराज गौतमले कार्यकक्षमै गएर प्रमुख थपलियालाई कुटपिट गरेका हुन् ।
आइतबार दिउँसो ४ बजे वडाध्यक्ष गौतमले प्रमुख थपलियाको कार्यकक्षमै गएर कुटपिट गरेकाे स्राेतकाे भनाइ छ । नगरप्रमुख थपलियाले गौतमले आफूलाई दुर्व्यवहार, गालीगलौज समान्य कुटपिट गरेकाे बताएका छन् ।
वडाध्यक्ष गौतमले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मापसे गरेर नगरपालिका प्रवेश गरेका वडाध्यक्षले अपशब्द प्रयोग गर्दै प्रमुख थपलियालाई कुटपिट गरेकाे प्रत्यक्षदर्शी कर्मचारी बताउँछन् । वडाध्यक्ष गौतमले कर्मचारीलाई पनि गालीगलौज गरेका थिए ।
थपलियाले आफूमाथि वडाध्यक्षले दुर्व्यवहार गरेको र केहीबेर कार्यकक्षमै थुनेर कुटपिट गरेकाे बताएकाे प्रहरीकाे भनाइ छ । थपलिया कुटपिटबाट समान्य घाइते भएका छन् । थपलियाले वडाध्यक्ष गौतमविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको बताएका छन् ।
प्रमुख थपलियाले वडाका विभिन्न योजनाको बजेट कटौती गरेको आरोप छ । वडाध्यक्ष गौतम नेकपा एमालेबाट निर्वाचित हुन् भने प्रमुख थपलिया नेपाली कांग्रेसबाट निर्वाचित हुन् । वडाध्यक्ष गौतम र वडासदस्य टिकाराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खाँदबारी नगरपालिका कार्यालय परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















