भरतपुर – चितवन उद्योग संघको आयोजना तथा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको सह–आयोजनामा माघ २५ गतेदेखि सञ्चालित प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को एक विशेष कार्यक्रमका बीच समापन गरिएको छ । चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि पौडेलले नेपालमा दुग्ध क्षेत्रको प्रचुर सम्भावना रहेको हुँदा यस क्षेत्रमा लाग्ने कृषकहरुले आधुनिक प्रविधिमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । पौडेलले दुग्ध किसानहरुको नीतिगत सुधारका लागि सरकारबाट पहल गरिनुपर्ने समेत बताए ।
प्रदर्शनी अन्तर्गत सञ्चालन गरिएको अन्तर संघ र दुग्ध सहकारी स्तरिय हाजिरीजवाफ प्रतियोगितामा परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था लि.प्रथम, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लि.द्धितीय, त्रिवेणी दुग्ध उत्पादक सहकारी संस्था लि.तृतीय र भैरवी दुग्ध उत्पादक सहकारी संस्था लि.ले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि., गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लि., राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था लि., उज्जवल दुग्ध उत्पादक सहकारी संस्था लि., वागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., शान्तिकुञ्ज दुग्ध उत्पादक सहकारी संस्था लि., बागलुङ्ग दुग्ध उत्पादक सहकारी संघ लि., भगवती दुग्ध उत्पादक सहकारी संस्था लि.लगायत ११ वटा सहकारी संस्थाहरुको सहभागिता रहेको थियो । प्रतियोगितालाई पत्रकार मनोज पन्तले सञ्चालन गर्नुभएको थियो ।
प्रदर्शनीमा बि.डि.सि.फुडस् (भवानी डेरी) सर्वोत्कृष्ट स्टलको रुपमा छनौट हुन सफल भएको छ । त्यस्तै पालिका समितिहरुबाट सिफारिस भई आएका भरतपुर महानगरपालिका वडा नं. १६ का ढकाल पशुपालन फर्मका सञ्चालक मोतिराम ढकाल, रत्ननगर नगरपालिका वडा नं. १५ का कालिका पशु विकास केन्द्रका सञ्चालक चेत प्रसाद ढकाल, खैरहनी नगरपालिकाका राजेन्द्र सडौला, कालिका नगरपालिका कामधेनु गाई फर्मका सञ्चालक कृष्ण गिरी, राप्ती नगरपालिकाका दनाई गाई फर्मका सञ्चालक नेत्र मणी दराईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले प्रदर्शनी पूर्ण रुपमा सफल भएको र आगामि वर्षहरुमा यसलाई बार्षिक कार्यक्रम बनाएर अगाडि बढ्ने बताए । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीले सञ्चालन गर्नुभएको समापन कार्यक्रमलाई चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गरेका थिए ।





















