चितवन – भरतपुरमा रहेको चितवन एक्स्पो सेन्टरमा जारी प्रथम डेरी एक्स्पो दुई दिनमा लगभग छ हजार जनाले अवलोकन गरेका छन् । एक्स्पोको बारेमा जानकारी दिँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले पशुपालनमा भित्रिएका आधुनिक प्रविधिहरुको प्रदर्शनी गरिएको बताउनुभयो ।
दूधको विविधिकरणका लागि आवश्यक पर्ने उपकरण तथा दूधबाट बन्ने परिकारको प्रदर्शनीसहितका ५२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु प्रदर्शनीमा राखिएको बगालेको भनाइ छ । दूध किसानहरुको समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागतमा न्यूनीकरण गरी दुग्धजन्य पदार्थको निर्यात गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रदर्शनी माघ २७ गतेसम्म सञ्चालन हुने उहाँको भनाइ छ । दूधको बजारीकरणमा सहजता होस् भनेर एक्स्पो सञ्चालन गरिएको बगालेले बताउनुभयो ।
यस प्रदर्शनीमा डेरी उद्योगका लागि आवश्यक पर्ने सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहार सम्बन्धीका स्टलहरु, पशु औषधि तथा भेटनरी सेवा सम्बन्धीका स्टलहरु, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टलहरु, बैंक तथा बिमा कम्पनीहरु, स्टार्टअप प्याभिलियनलगायतका स्टलहरु रहेका छन् ।






















