काठमाडौं । बैंक ग्यारेन्टीमार्फत ५४ लाख धराैटी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले मागेको ५४ लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
चितवनको साहारा सहकारी ठगीसम्बन्धीको मुद्दाका प्रतिवादी लामिछाने प्रभु बैंक ग्यारेन्टी बसेको कागजात पेश गरी रिहा भएका अदालतले जानकारी दिएको छ । उनलाई न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यसअघि कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र रुपन्देहीमा एक करोड बैंक ग्यारेन्टी पेश गरेर उनी रिहा भएका थिए ।
आदेशमा भनिएको छ, ‘यी प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी तत्काल प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४,००,०००।- (चौबन्न लाख रुपैयाँ धरौट वा जमानत वा बैंक जमानत लिनू) ।
चितवनस्थित साहारा सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपसहित लामिछानेविरूद्ध ठगीको मुद्दा दर्ता गरिएको थियो ।
चितवनले न्याय दिन्छ: लमिछाने
अदालतबाट धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको लामिछानेले बताए । उनले भने, ‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । देवताजस्ता मान्छे बस्ने ठाउँ हो यो ।
त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु । अहिले कुम्भमेला चलेको छ भनिएको छ । हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौंपटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् । त्यस्तो ठाउँ हो यो ठाउँ ।’
साथै, उनले अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गरे । ‘यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको छ । अघिल्लो निर्वाचनमा नै व्यक्ति चुनेको होइन । देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको पीडा हो । रबिले भने परिवर्तन जन्मिएरै छोड्छु ।





















