चितवन – भरतपुर महानगरपालिका, चितवनले चालु आर्थिक वर्ष २०८१/०८२ मा वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकलाई १२ महिनाको आवास भत्ता उपलब्ध गराउने भएको छ। महानगरपालिकाले मासिक २ हजार रुपैयाँका दरले आवास भत्ता वितरण गर्न लागेको हो।
गत आर्थिक वर्ष २०८०/८१ देखि महानगरपालिकाले आवास भत्ता वितरण गर्न सुरु गरेको हो। गत वर्ष शिक्षकहरूले ९ महिनाको भत्ता पाएका थिए। महानगरपालिकाका शिक्षा अधिकृत सुवास आचार्य भन्छन्, ‘यो वर्ष हामी १२ महिनाकै आवास भत्ता दिँदैछौँ।’
महानगरपालिकाले वडा नम्बर २९ का राजमार्गसँग नजोडिएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि आवास भत्ताको व्यवस्था गरेको छ। यो वडामा ११ वटा सामुदायिक विद्यालय छन्।
यीमध्ये १० वटा विद्यालय राजमार्गसँग जोडिएका छैनन्। यिनै विद्यालयमा कार्यरत वडाबासी बाहेकका शिक्षकले मात्र यस्तो भत्ता पाउँछन्।शिक्षा अधिकृत आचार्यका अनुसार ३३ जना शिक्षकले भत्ता पाउँछन्। स्वीकृत दरबन्दी तथा संघीय अनुदानमा कार्यरत शिक्षकका लागि यस्तो व्यवस्था गरिएको छ।





















