फाईल फोटो
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरेर उपभोक्तालाई महँगो मूल्य लिएका सिमेन्ट उद्योगीको पक्षमा बोलेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा उद्योगमन्त्री भण्डारीले निर्माण व्यवसायीको दाबी झैं ७५ प्रतिशतले मूल्य वृद्धि नभएको तर्क गरेका हुन्।
उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धिबारे मन्त्रालय लामो समयदेखि जानकार रहेको र यस विषयमा सिमेन्ट उत्पादक, निर्माण व्यवसायी, उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेको बताउदै निर्माण व्यवसायीले दाबी गरेझैं सिमेन्टमा ७५ प्रतिशतले मूल्य वृद्धि नभएको बताए।
सोहि छलफलमा सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरुले लोडसेडिङ बढेको, कोइला र चुनढुङ्गाको मूल्य बढेको, ढुवानी लागत बढेकोलगायत कारणले मूल्य बढेको बताएका छन्। सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरुले पनि निर्माण व्यवसायीहरुले भनेजस्तै ७५ प्रतिशतले मूल्य वृद्धि नभएको बताए।
यता निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट उद्योगहरु एक आपसमा मिलेर सिमेन्टको मूल्य ७५ प्रतिशतसम्मले बढाएको प्रमाण नै पेश गरे। उनले लेखा समितिलाई आफुले नै सिमेन्ट प्रति बोरा ६३० रुपैयाँदेखि ८३८ रुपैयाँसम्म तिरेको प्रमाण देखाएपनि समितिले कुनै कारबाहीको आदेश दिन सकेन। गत कात्तिकसम्म प्रति बोरा साढे चार सयको हाराहारीमा रहेको समेत सिंहले बताए।
होंग्सी सिमेन्टले गर्दा गत वर्षसम्म सिमेन्ट उद्योगहरुले कार्टेलिङ गर्न नसेको तर अहिले आएर यो समुहमा होंग्सी पनि मिसिन पुगेकाले सिमेन्ट उद्योगमा कार्टेलिङ सम्भव भएको सिंहको भनाई छ।
त्यसो त, अन्तराष्ट्रिय बजारमा सिमेन्टको उत्पादनको लागि चाहिने मूख्य कच्चा पदार्थ कोइलाको मूल्य घटेको छ भने नेपालमै उत्पादन हुने क्लिन्करको मूल्य थोरैले बढेको छ। यत्ति हुँदा घट्नुपर्ने सिमेन्टको मूल्य बढ्नुमा सिमेन्ट उद्योगहरुले उत्पादन कटौती गरेर कृतिम अभाव सिर्जना गर्नु नै भएको जानकार बताउछन।
नेपाली उपभोक्तालाई प्रति बोरा ६३० रुपैयाँदेखि ८३८ रुपैयाँसम्म बिक्रि गरिरहेका सिमेन्ट उद्योगले भारतीय बजारमा त्यहि सिमेन्ट प्रति बोरा ३२० रुपैयाँमा बिक्रि गरिरहेको भेटिएको छ। यसले पनि सिमेन्ट उद्योगले नेपाली उपभोक्तालाई सिजनमै लुट्नुसम्म लुटेको तथ्य पुष्टि हुने जानकार बताउछन।
जानकार भन्छन, “”अहिले प्रत्येक सिमेन्ट उद्योगले न्युनतम पनि दैनिक डेढ करोड कमाएका छन्, २० वटा सिमेन्ट उद्योगले दिनमा ३० करोड कमाइ गर्दा महिना दिनमै ९० अर्ब कमाइ गरेका छन्, तीन महिना मात्रै कार्टेलिंग गर्न सफल भए भने २७० अर्ब कमाई गर्छन। कार्टेलिंगमा सघाउने सबै तह तप्कालाई यहि पैसाको केहि हिस्सा दिंदा पनि पुगेकोले अहिले सबै मौन छन्।”
त्यसो त, सार्वजनिक लेखा समितिमा हिजोको छलफल पश्चात समितिले सिमेन्टको मूल्य बढ्नुको कारण अध्ययन गरी सात दिनभित्र जवाफ पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । (बिजपाटीबाट)





















