विराटनगर । पार्टीको काम कारबाहीलाई सामाजिक सञ्जालमा तीव्र आलोचना गर्दै आएका नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेशसभाका पूर्व सांसद विमल कार्कीलाई एमालेले कारबाही गरेको छ । प्रदेश कमिटीको बैठकले उनलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो ।
पुस २७ र २८ मा बसेको एमाले कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक सञ्जालमा टिका टिप्पणी र आलोचना गर्दै आएका थिए । एमाले प्रदेश कमिटीले उनलाई मङ्सिर ६ गते स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण चित्त बुझ्दो नभएपछि ६ महिनाका लागि उनलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए । कार्कीलाई मङ्सिर १६ मा एमाले कोशीका अध्यक्ष खतिवडाले नै स्पष्टीकरण सोधेका थिए । पत्रमा तीन दिनभित्र जबाफ दिन भने पनि कार्कीले समय घर्काएर स्पष्टीकरण बुझाएका थिए ।
स्पष्टीकरण बुझाए पनि कार्कीले सामाजिक सञ्जालमा ओलीको विरोधमा अभिव्यक्ति दिन रोकेका छैनन् ।





















