काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटी बुझाएर रिहा भएका छन् । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन ।
आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।





















