काठमाडौं । नागर्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता भएपछि नगरप्रमुख पदबाट स्वतः निलम्बन भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पङ्क्तिमा समेत तरंग उत्पन्न भएको छ ।
मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व उप–प्रमुखमा पुगेको छ । नागर्जुनको उप–प्रमुख नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी रहेकी छन् । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकारी स्वतः कार्यवाहक प्रमुख बनेको नगरपालिका प्रवक्ता महेश रिमालले बताए ।
अधिकारी पनि दोस्रो पटक उपमेयर निर्वाचित भएकी हुन् । मेयर बस्नेतमाथि २२ करोडभन्दा माथि बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।
























