सांकेतिक तस्विर
स्कोप्जे । यरोपियन देश नर्थ म्यासेडोनियामा एक ६१ वर्षीयाले बच्चा जन्माएकी छिन् । यससँगै उनी बच्चा जन्माउने सबैभन्दा ‘वृद्धा आमा’ बनेकी छिन् ।
स्कोप्जे युनिभर्सिटी क्लिनिक अफ गाइनेकोलोजी एन्ड अब्स्टेट्रिक्सका निर्देशक इरेना अलेक्सियोस्का पपेस्टिभका अनुसार नाम उल्लेख नगरिएकी ती महिला इन भिट्रो फर्टिलाइजेसन प्राप्तकर्ता थिइन् । ‘६१ वर्षीया महिलाबाट पिटर (बच्चाको नाम)को जन्मले चिकित्सा संसारमा अब कुनै सीमा छैन भनेर देखाउँछ,’ पपेस्टिभले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भनिन् ।
उनका अनुसार चिकित्सकहरूले ती महिलाको गर्भावस्थाको समयमा बिरामीलाई नजिकबाट अनुगमन गरेका थिए । जसमा उनलाई उच्च रक्तचाप र मधुमेह भएको पत्ता लागेको थियो ।पपेस्टिभले बिरामीले विगतमा १० अलग–अलग इन विट्रो उपचार गराएकी जानकारी दिइन् ।
नर्थ म्यासेडोनियामा इन भिट्रो उपचार प्रयोग गर्ने महिलाका लागि कुनै उमेर सीमा छैन ।अधिकारीहरूका अनुसार आमा र नवजात शिशुलाई मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो । बच्चाको बुवाको उमेर ६५ वर्ष भएको बताइएको छ ।
आधिकारिक तथ्याङ्कअनुसार उत्तर मेसेडोनियाको प्रजनन दर सन् २०२३ मा प्रतिमहिला बराबर १.४८ जन्म थियो । सन् १९९१ मा स्वतन्त्रता घोषणा गरेदेखि नर्थ मेसेडोनियाबाट आर्थिक कारणले आफ्ना धेरै मानिस बसाइँ सरेका छन् ।
हाल यस मुलुकमा केवल १८ लाख मात्रै बासिन्दा छन् । गत सन् २०२१ मा सञ्चालित अन्तिम जनगणनाका अनुसार करिब दुई दशकमा करिब १० प्रतिशतले घटेको छ ।





















