काठमाडौं / नेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ।
आर्थिक अनियमितता, एकलौटी रुपमा संघ सञ्चालन गरेको भन्दै संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीच विवाद छ। यति वेला नेपाल बक्सिङ संघ आन्तरिक विवादको चंगुलमा रुमलिएको छ।
दुई फरक समूहको नेतृत्वमा आरोप प्रत्यारोप भइरहेको छ। अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन। अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको, आर्थिक पारदर्शिता नभएको जस्ता आरोप महासचिव सविनले अध्यक्ष समूहलाई लगाएका छन्।
आन्तरिक खिचातानीको भुमरीमा रुमलिएको संघले सम्भावनाका बावजुद पनि अपेक्षित सफलता हात पार्न सकेको छैन। किचलोका कारण संघले आफ्नै आयोजनामा हुने राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन।
प्रतियोगिता तयारी गरिरहेका खेलाडी नेतृत्वको चपेटामा परेका छ। विवाद समधानका लागि अध्यक्ष र कार्यसमितिका पदाधिकारीहरू बसेर छलफल गर्नु पर्ने महासचिव भट्टाचार्य सुझाव दिन्छन्।
यता अध्यक्ष राम अवाले भने महासचिवको आरोपमाथि छलफल गर्न पनि चाहँदैनन्। निरन्तर प्रयास गर्दा पनि अध्यक्ष अवाले सम्पर्कमा आउन चाहेनन्। संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानविन गर्न मागसहित राखेपमा उजुरी दिएका थिए।
सोही उजुरीलाई टेकेर राखेपले अध्यक्षलाई विवरण पेश गर्न आदेश गरेको छ। नेपालले पदक ल्याउने मध्येको खेल बक्सिङ हो।
आन्तरिक खिचातानीमा संघ रुमलिँदा खेलाडीमा गम्भीर असर परिरहेको छ।





















