चितवन । भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (CMC ) मा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच आइतबार यस सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार भरतपुर महानगरवासीले होल बडी चेकअपमा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशत र अस्पतालको फार्मेसीमा ७ प्रतिशत छुट पाउने छन् । अस्पतालले बजारबाट खरिद गरेको सामानमा भने छुट सुविधा नपाउने सम्झौतामा उल्लेख छ ।

यो छुट सुविधा लिनका लागि महानगरले उपचार कार्ड उपलब्ध गराउने छ । यो कार्ड तयार नहुँदासम्म महानगरको सिफारिसका आधारमा यो छुट सुविधा पाईने छ ।
स्वास्थ्य बीमा, विपन्न र मेडिकल लिगल केसमा भने महानगरवासीले छुटको दावी गर्न पाउने छैनन । महानगरले आयोजना गर्ने स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रमहरु भएमा आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ती अस्पतालले उपलव्ध गराउने सम्झौतामा जनाईएको छ ।
यसैगरी चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा संचालित सिटिईभिटिको पढाईमा विद्यार्थीहरुलाई १० प्रतिशत छुटका लागि महानगरले सिफारिस गर्न सक्ने जनाईएको छ ।
महानगरपालिकाले आफ्नो कार्यालय परिसरमा सर्वसाधारण व्यक्तिहरुले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ वाई ६ फिटको बोर्डमा दुवै पक्ष बीच भएको सम्झौताको जानकारी राख्नु पर्ने सम्झौतामा उल्लेख छ । यो सेवा मंसिर २ गतेबाट लागू भई २०८२ मंसिर १ गतेसम्म लागू हुने छ । सम्झौतालाई पुनः नविकरण गर्न सक्ने प्रावधान राखिएको छ ।
सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपाने र सिएमसी फार्मेसीका सरोजप्रसाद ज्ञवालीले साक्षीमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चर्चा गर्र्दै यहाँका अस्पतालहरुको सुविधा उपभोग गर्दा स्थानीयले सहुलियत पाउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालै अस्पतालको शहर भनिने यहाँका जनताले पाउने सुविधा के ? भन्ने प्रश्न थियो । भरतपुरवासीले पनि केही त पाए भन्ने गर्भको अनुभूति भएको छ ।” सम्झौताले यहाँको जनताले सुविधा पाउने उहाँको भनाई थियो ।
सिएमसीसँग विगतमा पनि सहकार्य गर्दै आएको बताउँदै प्रमुख दाहालले यो सम्झौताले दुई संस्थाबीचको सम्बन्ध अझ मजबुद भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “यो सम्झौतालाई नमूना सहकार्यको मोडेल बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” आफूहरुको प्रस्तावलाई मेडिकल कलेजले सहर्ष स्वीकार गरेर यो सम्झौता गरिएको उहाँको भनाई थियो ।
सो अवसरमा चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपानेले चितवन मेडिकल कलेज नेपालको नम्बर एक मेडिकल कलेज भएको भन्दै सबैभन्दा धेरै स्पेशलिष्ट सेवा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले काठमाण्डौंमा गएर नेपालको नम्बर एक अस्पताल भनिरहँदा महानगरवासी छायाँमा परेका छन् । हामीले केही न केही गर्नैपर्छ भनेर नै यो छुट सम्झौता गरेका हौं ।”
यहाँका जनताको चितवन मेडिकल कलेजको सेवा पाउने अधिकार पनि भएको प्रा.डा. न्यौपानेको भनाई थियो । नेपालमा सबैभन्दा धेरै बिरामी र सबैभन्दा बढी स्पेशालिष्ट सेवा, सबैभन्दा बढी शल्यक्रिया गर्ने अस्पताल चितवन मेडिकल कलेज भएको उहाँले जानकारी दिनुभयो ।
सिएमसी क्यान्सर अस्पतालमा वीपी काईराला मेमोरियल क्यान्सर अस्पतालकोभन्दा एक रुपैयाँ बढी शुल्क नलिएको भन्दै उहाँले भन्नुभयो “क्यान्सरको उपचार पनि सरकारी अस्पतालको शुल्कमा नै गरेका छौं । त्यसमा पनि भरतपुरवासीलाई ३० प्रतिशत छुट हुन्छ ।”
























