काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सही ट्रयाकमा हिँड्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। संविधान संशोधन, सुशासन र आर्थिक सुधार गर्ने मुख्य एजेण्डा लिएर गठन भएको सरकारको कामप्रति डा. कोइरालाले असन्तुष्टि जनाएका हुन्।
अमेरिकबाट प्रशारण हुने डिसी नेपालको कार्यक्रम ‘द वृज टक’ मा पत्रकार अर्जुन दाहालसँग कुरा गर्दै डा। कोइरालाले सरकार गठन भएको तीन महिना पूरा भइसक्दासमेत सरकार आफ्नो एजेण्डमा अगाडि बढ्न नसकेको भन्दै असन्तुष्टि जनाए।
वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै डा। कोइरालाले वर्तमान सरकार असफल हुनु भनेको मुलुक असफल हुनु भएको टिप्पणी गरे।
उनले कांग्रेसको सहयोगमा सरकार गठन भएपनि सरकारका गलत कामको विरोध गर्ने बताए। उनले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ, हटाउने, उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने काम आफूहरुकै विरोधका कारण रोकिएको दाबी गरे।
उनले सरकारले राजनीतिक दल विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाए। ‘अहिले राजनीतिक दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने प्रपञ्च भएको छ, त्यो गलत हो। अध्यादेश ल्याउने नै भएपनि संसदको हिउँदे अधिवेशनमा ल्याउन सकिने उनको भनाइ थियो। उनले नचाहिने काममा बरालिन नहुनेमा जोड दिए।
























