चितवन – बालकुमारी कलेज नारायणगढ चितवन को आयोजनामा शनिबार देखि सौराहामा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको छ । । कलेजले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा “समावेशी र दिगो बिकासको लागि रुपान्तरण, नवप्रवर्तन र डिजिटलाइजेसन” बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । शनिबार सौराहा स्थित मोनालिसा होटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गरिएको हो ।
बालकुमारी कलेज संचालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन सत्रमा वरिष्ठ प्रोफेसर पुस्कर बज्राचार्य प्रमुख अतिथी रहनु भएको थियो । वालकुमारी कलेज अंग्रेजी विभागका प्राध्यापक सुरक्षा श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा अन्तराष्ट्रिय सम्मेलनका संयोजक डा. गुणराज क्षेत्रीले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो भने कलेजका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुृ भएको थियो । उद्घाटन कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति सिलु वज्राचार्य, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियालगायतले बोल्नु भएको थिायो । उद्घाटन समारोहमा वालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सम्मेलन आयोजक समितिका संयोजक डा. गुणराज क्षेत्रीले दुईदिने सम्मेलनमा नेपाल, चीन, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड र अस्ट्रेलियाका विज्ञहरुबाट ५० वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो । समावेशी र दिगो विकासको लागि रुपन्तरण, नवप्रवर्तन र डिजिटलाइजेसन विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नवप्रवर्तन र डिजिटल प्रविधिलाई समावेशी र दिगो विकासको प्रमुख आधार बनाउन सकिने विषयमा गहन छलफल जारी रहेको संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।
सन् २०१० मा पहलिोपटक अन्तर्राष्ट्रिय सम्मेलन गरेको कलेजले १४ बर्ष पछि दोस्रोपटक सम्मेलन गरेको हो । कलेज संञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले यस सम्मेलन आर्थिक समावेशीकरण, स्रोतको दिगो व्यवस्थापन र प्रविधि विकासलाई मानब कल्याण र वातावरणीय सन्तुलनमा केन्द्रित भएको वताउनु भयो ।
प्रविधिको रुपान्तरणले समावेशी विकासमा कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने बिषयमा समेत विचार बिमर्श भएको उहाँले जानकारी दिनु भयो । सम्मेलन आज (आईतबार) एक औपचारिक कार्यक्रमका विच समापन गर्ने कार्यक्रम रहेको छ ।





















