चितवन / चितवनमा २ हजार भन्दा बढी माक्स नलगाउने कारबाहीमा परेका छन् भने करीब २ लाख को हाराहारीमा राजश्व सङ्कलन भएको छ ।
कोरोना सङ्क्रमणको समयमा सुरक्षा सतर्कता नअपनाई हिँड्ने र यात्रा गर्नेलाई चितवन प्रशासनले कडाइ गरेको छ ।
लकडाउन खुले पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम उस्तै रहेको भन्दै प्रशासनले सुरक्षा सतर्कता नअपनाउने दुई हजार २०० जनालाई कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार यही साउन १७ गतेदेखि सोमबारसम्म उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।
मास्क नलगाई हिँड्ने तथा सवारी साधनमा यात्रा गर्नेलाई रु १०० देखि ५०० सम्म जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो । मास्क नलगाई हिँड्ने व्यक्तिको हकमा रु १०० तथा विना मास्क सवारी चलाउने चालकलाई रु ५०० जरिवाना गरिएको छ ।
व्यक्तिको हकमा सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार रु १०० जरिवाना गरिएको उहाँले बताउनुभयो ।
सोही अनुसार उनीहरुबाट रु दुई लाख ३६ हजार राजश्व सङ्कलन भएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको निर्णयानुसार नै जरिवाना गरिएको उहाँको भनाइ छ ।





















