पाेखरा । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर लामिछानेसँग तीन घण्टा बयान लिएका छन् ।
दिउँसो एक बजेदेखि अपरान्ह चार बजेसम्म लामिछानेसँग बयान लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए । उनले भने, ‘आजबाट औपचारिक बयान सुरु भएको छ । सोमबार विभिन्न बैंकहरूमा पत्राचार गर्ने काम भयो।
बुधबार बयान गर्ने कि नगर्ने भन्ने सरकारी वकिलसँग सल्लाह गर्छौं । हामीले पत्राचार गरेका बैंक तथा कार्यालयहरूले जवाफ पठाएपछि मागेका विवरण उपलब्ध गराएपछि त्यसमा आधारित भएर पनि बयान लिँदै जान्छौँ । उनको बयान सकिएको छैन । चरण–चरणमा भइरहन्छ ।’
लामिछानेको बयान जिल्ला न्यायाधिवक्ता कमला काफ्लेको रोहबरमा भइरहेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत शुक्रबार नै काठमाडौँबाट पक्राउ गरेर कास्की लगेर बुझाएको थियो । शनिबार राति नै पुर्याए पनि सार्वजनिक विदाका कारण त्यसदिन अनुसन्धान अगाडि बढेन । उनलाई अदालतमा उपस्थित गराएर म्याद थपको काम पनि बाँकी थियो ।
आइतबार लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराउने बेलामा रास्वपाका कार्यकर्ताले अवरोध गरेका थिए । उनीहरूको आन्दोलनका कारण प्रहरीले ढिलो गरी मात्रै अदालतमा उपस्थित गराएको थियो । आइतबार जिल्ला अदालतले लामिछानेलाई पक्राउ परेको मितिबाट ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । उक्त म्याद बुधबार सकिँदैछ । तर प्रहरीले बुधबार सम्ममा अनुसन्धान नसक्ने भएको छ । बयान नै बाँकी रहेको प्रहरी अधिकारीहरूले बताए ।
‘भोलि नै बयान सकिँदैन । बिहीबार छविलाल जोशीसँगै अदालतमा म्याद थपका लागि फेरि उपस्थित गराउँछौँ । हामीसँग करिब एक महिना समय छ । त्यो समयभित्रमा हामीले सक्नुपर्छ । त्यसपछि अदालतमा मुद्दा लैजान्छौँ । अरु आरोपितहरूलाई पनि पक्राउ गर्ने अनुमति पाएका छौँ । उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने हुन्छ । यस अघि पक्राउ परेका र अब पक्राउ पर्ने सबैविरुद्ध एकसाथ मुद्दा अदालत जाने हो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने ।





















