काठमाडौं। सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज आइतबार जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालतमा पेश गरिनेछ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।
शनिबार अदालत बन्द भएकाले उनलाई आज अदालतमा पेस गर्न लागिएको हो । लामिछाने विरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने प्रहरीको तयारी छ। लामिछाने विरुद्ध परेको उजुरीका आधारमा प्रहरीले उनलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ।
पोखराको सूर्यदर्शन सहित सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्वप्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो ।
संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी र सञ्चालक कुमार रम्तेल विरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।





















