काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको टिप्पणी गरेका छन्। मंगलवार प्रतिनिधि अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरुले बिरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको बताए।
उनले काँग्रेस–एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरुको अहिले भने स्वर सुकेको बताए । उनले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताए ।
उनले भने– ‘यहीँ हुनुहुन्छ माननीयज्यूहरु त्यतिबेला राजु सदाको कोभिडले मृत्यु हुँदा यो मृत्यु भएको होइन राज्यले हत्या गरेको भन्नुभएको थियो । त्यो ढंगको प्रतिक्रिया हुनुप¥यो नि । त्यो ढंगको अर्जेन्सीको महशुस हुनुप¥यो नि । त्यसको महशुस भएर त्यही अनुसारको अभिव्यक्त हुनुप¥यो नि । ताकि भोलिका दिनमा यस्तो चिज नहोस् भनेर । दुई तिहाइको सरकार घातक छ । एउटा प्रतिपक्षमा बस्नुपर्छ ठूलो पार्टी । नत्र यस्तै हुन्छ । शान्त हुन्छ । केही पनि नभएजस्तो हुन्छ ।’
उनले सरकारमा नागरिकको ज्यान बचाउने इच्छाशक्ति नभएकोले नागरिकहरुको बिल्लिबाठ भएको बताए ।
उनले थपे, ‘मैले त्यतिखेर (गृहमन्त्री हुँदा) एक्शन रुमबाट राम्रो तयारी गरेको थिएँ । त्यसको निरन्तरता भएन । त्यसको निरन्तरता हुन सकेको भए, कमाण्ड पोस्टको मान्छे २४ सै घण्टा बस्ने व्यवस्था गरिएको थियो । प्रदेशभर राखिएको थियो । हेल्प सेन्टर राखिएको थियो । ति कुनै चिजको कार्यान्वयन भएनन् । राति गाडी नगुडाउनु भन्ने सूचना आयो । ट्राभल एडभाइजरीले बाटोमा गाडी रोक्छ ? ट्राभल एड्भाइजरी जारी गरेपछि त्यसको अक्षरशः पालना गर्नुपर्छ भनेर कसलाई भनियो ? कहाँ परिपत्र भयो ? रोक्ने गौँडाहरु त थिए त ।
कही पनि गर्न सकिएन । नियमित जस्तो झारा टार्ने काम भयो । सरकारले गरेको यो एकदमै गैरजिम्मेवारीपूर्ण काम हो । यो कुरालाई स्वीकार गर्नुपर्छ । हाम्रो स्रोत, साधन, क्षमतामा सिमितता छ । तर असिमित इच्छाशक्ति हुन सकेको भए नागरिकको ज्यान बचाउन सकिन्थ्यो । मान्छेहरुको यस्तो बिल्लिबाठ हुँदैन थियो ।’





















