पाेखरा । पोखरा महानगरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमित बढेसँगै महानगरमा यसबाट पाँच जनाको मृत्यु भइसकेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बिहीबार १३ वर्षीय बालकको मृत्यु भएको हो । तनहुँ र म्याग्दीका एक/एक जनाको यसबाट मृत्यु भइसकेको छ । गण्डकी प्रदेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले उपचारका क्रममा डेङ्गु सङ्क्रमित स्याङ्जा घर भई पोखरा–१५, नयाँगाउँ बस्ने सुशान्त सारुको मृत्यु भएको जानकारी दिए ।
सरुका बुवा परिवारको सम्पर्कमा हुनुहुन्न भने आमा वैदेशिक रोजगारीमा छिन् । पोखरा महानगरमा यसअघि यस एक पुरुष र तीन महिलाको डेङ्गी सङ्क्रमणबाट ज्यान गइसकेको छ । यस अघि वृद्धवस्थाका बिरामीको ज्यान गएकोमा प्रदेशमै पहिलो पटक बालकको डेङ्गुका कारण ज्यान गएको हो ।
प्रदेशमा सबैभन्दा बढी कास्कीमा चार हजार नौ सय २३ जना सङ्क्रमित रहेकोमा पोखरा महानगरका मात्रै चार हजार आठ सय १५ जना छन् । पोखरापछि सबैभन्दा बढी सङ्क्रमित तनहुँको आबुँखैरेनी गाउँपालिकामा एक हजार तीन सय आठ जना छन् ।
गण्डकी प्रदेशमा नौ हजार सात सय १२ जना सङ्क्रमित पुगेका छन् । मुस्ताङ तीन जना सङ्क्रमित हुँदा अहिलेसम्म मनाङमा भने डेङ्गु देखिएको छैन ।
कास्कीपछि तनहुँमा तनहुँमा दुई हजार चार सय ४६ जना डेङ्गु सङ्क्रमित छन् । लमजुङमा ९४, नवलपुरमा एक सय २३ जना, म्याग्दी एक सय ४५ जना, बागलुङमा तीन सय २४ जना, स्याङ्जा तीन सय ४४ जना, गोरखामा चार सय ५० जना र पर्वतमा आठ सय ५८ जना संक्रमित भएका छन् ।





















