सुनसरी । कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । प्रदेशबाट पहिलोपटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ ।
स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलोपटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो । इटहरी स्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा सेवाग्राहीलाई लाइसेन्स वितरण गर्दै मुख्यमन्त्री हिक्मत कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले औपचारिक उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशका नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै ट्रायल पास भएलगत्तै लाइसेन्स पाइने बताए ।
उनले आवश्यक व्यवस्था मिलाउन केही दिन समय लाग्ने बताउँदै भने, ‘पासपोर्टजस्तै लाइसेन्स पनि आवश्यकताका आधारमा वर्गीकरण गरेर केही शुल्क बढाएर दिने व्यवस्था गर्दैछौं, तपाईहरूको सहयोग आवश्यक छ ।’
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै स्मार्ट लाइसेन्स छाप्ने गरीको तयारी भइरहेको जानकारी दिए ।
गत साउन ३२ गते सातवटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरूको संयुक्त बैठकले सवारी चालक अनुमतिपत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्युआर कोडसहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो ।
सोही अनुसार सबैभन्दा पहिलोपटक कोशी प्रदेशले अस्थायी कार्ड वितरण गरेको दाबी गरिएको छ ।





















