चितवन । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज भरतपुरमा साईकल -याली आयोजना गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भएको -यालीलाई जनस्वास्थ्य कार्यालय चितवनले सहकार्य गरेको हो ।
भरतपुरको गोन्द्राङबाट शुरु भएको साईकल -याली, वसन्तचोक, बसपार्क चोक, हाकिमचोक, धारेचोक हुँदै केन्द्रीय बस टर्मिनलमा पुगेर समापन भएको थियो ।
समापन समारोहमा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले विश्वमा प्रत्येक वर्ष सात लाख २० हजार मानिसले आत्महत्या गर्ने गरेको बताउनुभयो । उहाँले नेपालमा वर्षेनी सात हजारभन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै राज्यले मात्रै आत्महत्यालाई न्यूनिकरण गर्न नसक्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोगले आत्महत्यालाई न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आत्महत्या गर्नुका कारणहरु पहिचान गरेर तिनलाई निराकरण गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । एउटा व्यक्तिले आत्महत्या गर्दा त्यसको असर परिवार र समाजमा लामो समयसम्म रहने उहाँको भनाई थियो ।
-यालीको उद्घाटनका अवसरमा भरतपुर ९ का वडा अध्यक्ष यमलाल कँडेल, जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख दीपक सुवेदी, जनस्वास्थ्य अधिकृत केशवप्रसाद भट्ट लगायत चितवन साईकल राईडर संघ, टिपिओ नेपालका प्रतिनिधिले बोल्नु भएको थियो ।
कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय चितवन, समिट अस्पताल, डिआर साईकल, प्राईम नेपाल, महानगर युवा सञ्जाल, रोटी क्लब लगायतका संघ संस्थाले प्राविधिक सहयोग गरेका थिए ।





























