काठमाडौं / त्रिभुवन विश्वविद्यालय (त्रिवि) रजिष्टार कार्यालयले केन्द्रीय कार्यालयसहित त्रिविका अन्य क्याम्पसहरुमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि त्रिविले यस्तो निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले अन्य सेवा बन्द गरिएको जानकारी दिए ।
देशका विभिन्न ठाउँमा कोरोना संक्रमित बढ्दै गएका छन, उनले भने,‘त्रिविले प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा त्रिवि अन्तर्गतका सबै क्याम्पसबाट अब अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ । हामीले अन्य क्याम्पसलाई सूचना जारी गरी जानकारी गराएका पनि छौँ सूर्यप्रसाद अधिकारीले भने ।
अधिकारीले केन्द्रीय कार्यालय र अन्य क्याम्पसहरू आंशिक रुपमा मात्रै सञ्चालन गर्ने जानकारी दिए । उनका अनुसार कार्यालयलाई आंशिक रुपले सञ्चालन गर्ने सम्बन्धमा अत्यावश्यक काम र कर्मचारीको व्यवस्थापन गर्न सम्बन्धित निकाय, कार्यालय,महाशाखा प्रमुखलाई जिम्मेवारी दिइएको छ ।
सम्बन्धित क्याम्पसरविभागर स्कुलले तोकेअनुसार अनलाइन कक्षा लिने शिक्षकहरुको सोही रेकर्डलाई आधार मानी हाजिरी जनाउने, अनलाइन कक्षा नलिने शिक्षकलाई क्याम्पसमा उपस्थित भई हाजिरी गर्नुपर्ने निर्णय गरेका छौँ ।
उनले भने, ‘कार्यालयमा कर्मचारीको बसाइ कम्तीमा ६ फिटको दूरी कायम गर्ने, सबै कर्मचारीलाई कार्यालय प्रवेशको ढोकामै प्रत्येक दिन अनिवार्य ज्वारो नाप्ने, सेनिटाइजर वा साबुनपानीले हात धुने व्यवस्था मिलाउने र मास्क नलगाएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिन अनुरोध गरिएको छ ।
स्थानीय प्रशासनले लकडाउन तथा निषेधाज्ञा जारी गरेमा सो अवधिसम्म सो क्षेत्रका क्याम्पस कार्यालयका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय भएको छ । त्यस्तैगरी मिटिङ गर्दा भर्चुअल मिटिङ मात्र गर्ने, फेस रिड डिभाइसबाट हाजिरी गर्ने व्यवस्था मिलाउने सो व्यवस्था नहुन्जेल रजिष्टरमा हाजिरी गर्ने निर्णय भएको छ ।





















