मकवानपुर । श्रीमतीको हत्या गरेको आरोपमा मकवानपुर प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। कैलाश गाउँपालिका–५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मङ्गलबहादुर पाख्रिन पक्राउ परेका हुन्।
यही साउन २८ गते साँझ मङ्गलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्यागरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मङ्गलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घर भित्र बन्चरो प्रहारगरी हत्या गरेको र शवलाई टुक्रा पारेर दुई वटा बोरामा हाली कालीखोला स्थित सामुदायिक वनमा गाडेका थिए।
घटनामा प्रयोग भएको धारिलो हतियार बञ्चरोको बिड फुकाली घरभन्दा पूर्वतर्फ खाल्डो खनी गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
खाल्टोमा गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडा खाल्डोबाट निकाली पाख्रिनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ। रासस





















