काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा उठेका प्रश्नको बिहिबार जवाफ दिने भएका छन्। स्थायी समिति सदस्यले बोलिसकेपछि अध्यक्ष दाहालले बिहीबार जवाफ दिने उपाध्यक्ष अग्नि सापकोटाले बताए ।
बैठकले पछिल्लो राजनीतिक परिस्थितिलाई सही दिशामा अघि बढाउन प्रचण्डको विकल्प नरहेको निष्कर्ष निकालेको उनले बताए। गतिविधिलाई प्रभावकारी बनाउन पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै पंक्ति सङ्गठिन हुनुपर्नेमा नेताहरूले जोड दिएको उनको भनाइ छ।
उनले भने, सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर प्रचण्डको नेतृत्वमै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्न प्रचण्डले नै खास पहल लिनुपर्छ। त्यसैले नेतृत्वको विकल्प तत्काल खोज्न नहुने साझा धारणा छ।
नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधन गर्न चाहेको सन्दर्भमा पार्टी अध्यक्षलाई थप बलियो बनाउनुपर्ने राय दिएको थिए ।
बैठकमा धारणा राख्ने क्रममा उपमहासचिव जनार्दन शर्माले प्रचण्डको चर्को आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिएका थिए। अब अध्यक्ष दाहालले स्थायी समिति सदस्यको धारणासहितको प्रस्ताव तयार पारेर अब बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी भएको छ ।
केन्द्रीय समिति बैठक लगत्तै स्पष्ट कार्ययोजना सहित माओवादीले सङ्गठन सुदृढीकरण र जनपरिचालनको योजना बनाएको सापकोटाले बताए ।





















