चितवन – चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार हात्तीलाई वनभोज खुवाइएको छ । १३ औं विश्व हात्ती दिवसको अवसरमा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा नीजि स्तरका हात्तीहरुलाई खिर, केक लगायत विभिन्न परिकारहरु बनाएर वनभोज खुवाइएको हो ।
हात्ती वनभोजमा चामल र भेलीको विशेष केक र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खर भूजा सहितको मिठाष्ठन परिकार बनाईको थियो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको हो ।
सरकारी र नीजि स्तरमा पालेका ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षण सम्बन्धी बहस र छलफल गरी दिवन मनाइएको कार्यक्रम संयोजक शम्भु मालीले जानकारी दिए । हात्ती संरक्षणको सन्देश प्रवाह गर्न आयोजित कार्यक्रममा हात्तीलाई केकसहित उसलाई मनपर्ने परिकार खुवाइएको कार्यक्रम संयोजक शम्भू प्रसाद मालीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना र विशेष अतिथि निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीका छावालाई सख्खर र फलफुलबाट बनाइएको केक खुवाएर हात्ती दिवसको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष प्रकाश ढुंगानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताए । निजी स्तरमा पालेका हात्तीहरुलाई चरिचरणको समस्या रहेको भन्दै उनले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पत्तीको रुपमा ग्रहण गर्नुपर्ने धारणा राखेका थिए ।
प्रमुख संरक्षण अधिकृत पुर्जापुनले नेपालमा हात्तीको अवस्था, महत्व, रहनसहन र स्याहार सुसारको विषयमा जानकारी गराएका थिए। आहार, खानपान र स्वास्थ्य उपचारको हिसाबले हात्ती पाल्न मुश्किल रहेको भन्दै नीजि स्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको उनले बताए ।
सौराहामा सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको पनि दर्ता गर्न निकुञ्जले सहयोग गर्ने उनको भनाई छ । सौराहाको पर्यटन विकासमा हात्तीको महत्व दर्जाउदै सफारी पर्यटनलाई जिवित राख्ने उद्देश्यले हात्ती दिवस मनाइएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।
उनले नीनि सरकारी हात्ती विचको विभेद हटाउन नीनि हात्तीलाई चरिचरणका लागि निकुञज प्रवेश गराउनुपर्ने माग गरेका थिए । मानव र हात्तीको बीचमा उत्पन्न भएको असमझदारीलाई हल गर्दै हात्ती संरक्षणमा जनभावना अभिवृद्धि गर्न आवश्यक रहेको खतिवडाले बताए ।
चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा नीजिस्तरमा पालेका ४५ वटा हात्ती छन् । प्रमुख संरक्षण अधिकृत पूर्जापुनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षिय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहा सहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा हात्ती दिवस मनाइएको थियो ।






















