काठमाडौं । नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सो बारेमा छलफल भएको हो ।
सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गरेकाे बताए ।
उनले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राख्नुभएको जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेता प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राखे ।
परिस्थिति जटिल भएको र त्यसका चुनौतीहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरुले जोड दिएको पनि बताए । पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको ठहर गर्दै विगतका सबै काम कारबाहीको पनि थप संश्लेषण गरिने उनको भनाइ छ । बैठक आइतबार बिहान ११ः०० बजे पुनः बस्नेछ ।





















