चितवन । आमाहरुले शिशुलाई स्तनपान नगराउँदा आफैलाई समेत रोगको जोखिममा त छ नै शिशु समेत रोगी बन्न सक्ने चिकित्सकहरुले औल्याउनु भएको छ ।
चिकित्सकहरुले नियमित स्तनपान नगर्ने शिशुलाई श्वासप्रश्वास, निमोनिया, झाडापखाला जस्ता रोगहरु लाग्ने सम्भावना बढी हुने बताउनु भएको हो । उहाँहरुले स्तनपान नगर्ने शिशुको रोग प्रतिरोधी क्षमता कमजोर हुने बताउनु भएको छ ।
कान्तिपुर हेल्थ अनलाईनले विश्व स्तनपान सप्ताहको अवसरमा शनिबार दियालो फुडल्याण्ड, क्षेत्रपुरमा आयोजना गरेको “स्तनपानको महत्वः चिकित्सक–पत्रकार अन्तक्र्रिया” कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. सुनिलमणि पोखरेलले आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुने बताउनुभयो । उहाँले भन्नुभयो “आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने बिभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूलाई रोगबो रक्षा गर्दछन् ।”
स्तनपान गराउँदा आमाहरुमा अक्सिडेसन हर्माेन बृद्धि हुने र त्यसले क्यान्सर हुनबाट जोगाउने उहाँको भनाई थियो । डा. पोखरेलले भन्नुभयो “आमाको पहिलो बिगहुँते दूधमा अक्सिडेसन हर्माेन बढी हुन्छ, स्तनपान गराउँदा पाठेघर खुम्चिन्छ, जसले रक्तश्राव हुनबाट जोगाउँछ ।” डा. पोखरेलले थप्नुभयो “रक्तश्राव हुनबाट जोगिएको अवस्थामा डिम्बासयको क्यान्सर हुने जोखिम कम हुन्छ ।” अक्सिडेसन हर्माेनमा शिशुलाई आवश्यक पर्ने तत्व पनि बढी हुने उहाँको भनाई छ ।
नियमित स्तनपान नगराउने आमाको स्तनमा बोसो जम्मा भएर क्यान्सर समेत गराउन सक्नेतर्फ सचेत गराउँदै उहाँले भन्नुभयो “जन्मेको ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउनु पर्छ, कम्तीमा दुई वर्षसम्म पुरक खाना सहित स्तनपान गराउनु पर्दछ ।” सम्भव हुन्छ भने दुई वर्षपछि पनि स्तनपान गराउन सकिने उहाँको भनाई थियो ।
प्रा.डा. पोख्रेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुबैलाई फाईदा हुने बताउनुभयो । नवजात शिशुलाई जन्मिएको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने भन्दै उहाँले भन्नुभयो “शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुन्छ ।”
स्तनपान नियमित गराउने आमाहरुको तुलनामा स्तनपान नगराउने आमाहरुलाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना बढी हुने प्रा.डा.पोखरेलेको भनाई छ । उहाँले अगाडि भन्नुभयो “नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा समेत कमि आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुट्टिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याहरुबाट समेत छुटकारा पाउन सकिन्छ ।”
भरतपुर सामुदायिक अस्पतालमा समेत सेवा दिंदै आउनु भएका प्रा.डा.पोखरेलले भन्नुभयो “कम्तिमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनु पर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पु¥याउँछ ।” पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उहाँले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक बृद्धि विकासमा समस्या पर्नुका साथै आमामा बिभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिनुभयो ।
पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्नेहरु पनि आफूकोमा आउने गरेको भन्दै डा. पोखरेले भन्नुभयो “स्तनपान गराईसकेपछि विभिन्न व्यायाम गरेर मोटोपन र स्तन घटाउन सकिन्छ, तर स्तन घटाउने औषधि पाईदैन ।”
सो कार्यक्रममा भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाईल चलाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “आमाले मोबाईल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएन, नाक बुझ्झिएको छ छैन लगायत केही कुरा पनि जानकारी हुँदैन ।” उहाँले बच्चाको माया ममता पनि कम हुने भन्दै भन्नुभयो “स्तनपान गराउने समयमा शिशुलाई सुम्सुमाउनु पर्छ, अन्यत्र ध्यान दिनु हुँदैन ।”
























