काठमाडौं / कोरोना भाइरस संकट व्यवस्थापन सेन्टर, (सिसिएमसी)को आईतबार बसेको बैठकले हवाई यातायात र लामो दुरीका गाडी अझै १५ दिनका लागि स्थगित प्रस्ताव गरेको हो । सिसिएमसीले हवाई उडान र लामो दुरीका गाडी भदौ १५ सम्म स्थगित गर्ने प्रस्तावमाथि सोमबार बस्ने मन्त्रिपरिषद्ले निर्णय लिनेछ ।
मन्त्रिपरिषद्को साउन ५ गतेको बैठकले चार महिना लामो लकडाउन हटाउँदै अन्तरजिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान र विद्यार्थी भर्ना अभियान भदौ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको थियो ।
भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र सिसिएमसीले भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको हो । आजको बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्रै कर्मचारीलाई काममा बोलाउन भनिएको छ। बैठकले ५० प्रतिशतलाई घरमा राख्न या सात या १५ दिनमा पालैपालो गर्न भनेको छ। यसबारे सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय लिने छ ।
कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि यही भदौ १ गतेदेखि लामो दुरीका गाडी र हवाई उडान खुल्ने सम्भावना कम हुँदै गएको छ । गत चैत ११ देखि बन्द रहेका लामो दुरीका यातायात तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि खुलाउने निर्णय यसअघि सरकारले गरेको थियो । तर पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै गएपछि सरकार यो निर्णयबाट पछि हट्ने निचोडमा पुगेको हो ।
बैठकले स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टाइन स्थलहरु व्यवस्था गर्ने निर्णय पनि गरेको छ । विभिन्न जिल्लामा संक्रमितको संख्या बढ्दा आइसोलेसन अभाव देखिएकाले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टाइन थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए। सरकारले तोकेका स्वास्थ्य प्रोटोकलहरु प्रयोग नगर्दा संक्रमणको जोखिम सँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ । संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गरे ।
भदौ १ गतेबाट हवाई सेवा सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको उनले बताए ।





















