काठमाडौं / नेपाली काँग्रेसले भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए । जयशंकरले शनिबार ‘हामी सबैले आज सम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ,’ भनेका थिए ।
यसबारे नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार लगातार तीन वटा ट्वीट गरेर गम्भीर आपत्ति जनाएका हुन् । शर्माले ट्वीटमा लेखेका छन्, बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणीपनि नेपाल बुद्ध भूमी हो भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो । फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ ।
गौतम बुद्ध भारतमा जन्मेको एस जयशंकर दाबीलाई शर्माले आवेगको जवाफ भनेका छन् । शनिबार प्रधानमन्त्री केपी ओलीले भगवान राम नेपालमा जन्मिएको दाबी दोहोर्याउँदै माडीमा राम, सीता, हनुमान र लक्ष्मणको मूर्ती बनाउन निर्देशन दिएका थिए ।
आवेगको जवाफमा आवेग दुवै देशको हितमा नहुने शर्माको भनाइ छ । शर्माले भने, राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् । मुल बिषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।
नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्ति प्रति शर्माको गम्भीर आपत्ति छ । उनले लेखेका छन्, भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भुभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ ।
आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य आफूहरुलाई किमार्थ स्वीकार्य नभएको शर्माले बताए । भगवान बुद्ध नेपालमा जन्मिएका हुन् त्यो भु -भाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्ति प्रती हाम्रो गम्भीर आपत्ति छ ।





















