काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आउँदो निर्वाचनबाट माओवादी केन्द्र एउटा निर्णायक शक्तिको रूपमा उदाउने दाबी गरेका छन्। एमालेले सहकार्य तोडेर कांग्रेससँग काँध मिलाएको परिघटनाले आफूहरुलाई राम्रो शिक्षा दिएको उनको भनाइ छ।
‘एक वर्षसम्म हामी विभिन्न गठबन्धन हुँदै सरकारमा रह्यौँ । पार्टीभित्रका कसैले प्रधानमन्त्री पायो, कसैले मन्त्री पायो, कसैले कुनै न कुनै नियुक्ति पायो तर कसैले केही पनि पाएन । यसले हामीबिच सत्ता स्वार्थको खेल पनि भएजस्तो भयो’ उनले एक अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘हामी अलि बिग्रिएका पनि थियौँ पार्टीमा । अब हामी यी सबै स्वार्थबाट बाहिर आएका छौँ ।’ उनले एकैपटक सडक र सदनमा प्रतिपक्षीको भूमिकामा आएको बताए।
उनले थपे, ‘हामीलाई अरूको कमजोरी खोज्नेभन्दा पनि आफूभित्रकै कमी–कमजोरीहरूलाई पहिचान गर्ने र सुधार गर्ने अवसर पाएका छौँ । सत्तामा रहेकोमात्र नभएर प्रतिपक्षीको रूपमा रहेका सबै पार्टी र राजनीतिलाई केलाएर हेर्न पाउने अवसर नेकपा माओवादी केन्द्रले पाएको छ । यसलाई हामीले अवसरको रूपमा भरपुर उपयोग गर्ने नै छौँ ।’
संविधानको रक्षा गर्ने, मुलुकलाई अग्रगमनको बाटोमा लैजाने, सुशासन र भ्रष्टाचार विरुद्ध सदन र सडक जनताको बिचमा उभिने राम्रो स्पेस पाएका बताए।
‘हामी पार्टीभित्रको कमी–कमजोरी सुधार्दै आफूलाई थप निखार्दै २०८४ को निर्वाचनलाई तयारी गर्छौँ । आउँदो निर्वाचनबाट नेकपा माओवादी केन्द्र एउटा निर्णायक शक्तिको रूपमा उदाउने छ’ उनको भनाइ छ।





















