भरतपुर – चितवनको भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि २०८१ असार २७ गते वीहीबार देखि ‘थ्री टेस्लाएमआरआई ६४ सलाइस’ को उपकरण सञ्चालनमा आएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोडमा मेसिन खरिद गरिएको हो ।
अस्पतालमा दुर्घटना लगायतका बिरामीको एमआरआई गर्नु परेमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ ।
अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरे लगायतका उपकरण यस अघि नै सञ्चालित छ ।
भरतपुर अस्पतालमा क्याथल्याब’ सञ्चालन गर्ने तयारी रहेको अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताउनु भएको छ ।






















