काठमाडौं । कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि मन्त्रालय भागबण्डामा जुटेका छन्। प्रधानमन्त्री प्रचण्डले भोलि सदनमा विश्वासको मत लिँदा नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
पहिलो चरणमा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्दैछन् , एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ । मन्त्रायल भागबण्डामा दुई दलबीच धेरै विवाद नरहेको देउवा निकट एक नेताले दाबी गरे ।
ती नेताले भने, , ‘साना दल दलले सबै सरकारमा जान तयार देखिएका छन् । यो डेढ वर्षमा जनमोर्चा र नेमकिपाबाहेक सबै सरकारमा गएका छन्, त्यसैले दुई दलले लिने मन्त्रालय निश्चित भएको छ । बाँकी साना दललाई मिलाएर लैजान्छौं ।’
गृह र परराष्ट्र कांग्रेसले लिने र अर्थ र सञ्चार एमालेले लिने सहमति भइसकेको ती नेताको दाबी छ ।
ती नेताले भने, ‘अरु मन्त्रालय टुंग्याउन रमेश लेखक र शंकर पोखरेलले बसेर मन्त्रालयको टुंग्याउने तयारी छ । मन्त्रालयमा विवाद छैन, भौतिक पूर्वाधार र ऊर्जा एउटा, शहरी विकास र स्वास्थ्यमा एउटा हामीले लिन्छौं । त्यहीअनुसार सबै मन्त्रालय मिलाएर बाँडफाँट हुन्छ ।’
प्रवक्ता डा. प्रकाशशरण महतले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँट हुने बताए । अब बन्ने सरकारमा उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भइरहेको छ।
तर, एमालेका अध्यक्ष ओलीले मन्त्रालयको बाँडफाँट भइ नसकेको दाबी गरे। बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए।
कांग्रेस र एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसको भन्दै को(को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए।
उनले उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताए।
उनले भने, ‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन। यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय। कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन्। सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ।’





















