भरतपुर – चितवनको भरतपुरस्थित केन्द्रीय अस्पतालको भूमिकामा रहेको भरतपुर अस्पतालले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै बहिरङ्ग सेवा (ओपिडी) को टिकट काउन्टर थपेको छ । यसअघि जम्मा पाँचवटा काउन्टरबाट टिकट वितरण गर्दै आएको अस्पतालले तीनवटा काउन्टर थप गरेर आठवटा पुर्याएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अस्पतालमा बहिरङ्ग सेवा लिनेको चाप नघट्ने हुँदा लामो समयसम्म लाइन पर्खेर बस्नुपर्ने समस्यालाई समाधान गराउनका लागि ओपिडी काउन्टर थप गरिएको उनले बताए । ‘सधैँ भीड बढी भयो, समयमै सेवा पाउन मुस्किल भो भन्ने गुनासो आइरहने हुँदा त्यसलाई कम गराउने योजना सहित टिकट काउन्टर थप गरेका हौँ’, उनले भने, ‘अब एक जना सेवाग्राहीलाई टिकट लिन धेरैबेरसम्म लाईनमा बस्नु पदैन ।’
सेवाग्राही बिहान ५ बजेदेखि नै अस्पतालमा आएर लाइन लाग्ने समस्या बढ्दै जाँदा टिकटको काउन्टर थप गरेपछि त्यो समस्या कम हुने उनको दाबी छ । बिल काउन्टर समेत आठवटै सञ्चालनमा रहेको उनले बताए । ‘त्यसबाहेक अनलाइन टिकेटिङको सुविधासमेत दिँदै आएका छौँ’, प्रा.डा. पौडेलले भने, ‘जिओपिडीसमेत दुई सिफ्टमा सञ्चालित छ ।’ बिहान ८ देखि साँझ ५ बजेसम्मका लागि जिओपिडीको सुविधा दिँदै आएको उनले बताए ।
दन्तरोगसम्बन्धी परीक्षणका लागि भने बिहान साढे ९ बजेदेखि साँझ ५ बजेसम्म र अन्य टिकट बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म लिन सकिने अस्पतालले जनाएको छ । अपाङ्ग, ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि जिओपिडी, मेडिकल ओपिडी, अर्थोपेडिक सर्जरीलगायतलाई छुट्टाछुट्टै काउन्टरको व्यवस्था रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. पौडेलले जानकारी दिए ।
मध्य नेपालका अधिकांश जिल्लाका बिरामीको उपचार केन्द्रको रुपमा विकसित हुँदै आएको अस्पतालमा हाल दैनिक दुई हजार जनाको हाराहारीले ओपिडी सेवा लिने गरेका छन् । प्रा. डा. पौडेलका अनुसार यो समय वर्षात्का कारण ओपिडी सेवा लिनेको सङ्ख्या औसतमा कम हुने समय हो ।
‘हामीकहाँ एकैदिन दुई हजार ८०० जनाले ओपिडी सेवा लिएको तथ्याङ्क पनि छ’, उनले भने, ‘वर्षात्को मौसममा पनि दुई हजार जना घटेको छैन ।’ बिरामीको चाप र आवश्यकतालाई ध्यानमा राख्दै आवश्यक यन्त्र उपकरण थप्ने तथा आन्तरिक सुधारका काम क्रमिकरुपमा हुँदै आएको उनको भनाइ छ ।
अस्पतालको सौन्दर्यीकरण र उपचार सेवा मा पनि विशेष ध्यान दिँदै आएको अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताए । अध्यक्ष पौडेलले भने, अस्पतालको हरेक विभागमा क्रमिक सुधार गर्दै लगेका छौँ ।’





















