काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले पार्टी एकतालाई सुदृढ पार्न दबाब दिने भन्दै हस्ताक्षर सार्वजनिक गरेका छन् ।
नेकपाका ६१ जना सांसदहरूले पार्टी विभाजनलाई रोक्न र एकतालाई सुदृढ पार्न नेतृत्वलाई दबाब दिएका हुन् ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनीहरूले शीर्ष नेताहरूलाई पार्टीको महाधिवेशनको तयारीमा जुट्न र कोभिड–१९को रोकथाममा लाग्न आग्र गरेका हुन् । उनीहरुले झगडाको गाइजात्रा नदेखाउन नेताहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा सांसद विशाल भट्टराईले आवश्यक परे पार्टी कार्यालय र नेताहरुको घरमा धनौ दिनसमेत तयार रहेको बताए ।
‘अहिले हस्ताक्षर अभियान सञ्चालन गर्यौं , आवश्यक परे पार्टी कार्यालय र नेताहरूको घरमा धर्ना समेत दिनेछौँ । यो झगडा गरेर जुन गाईजात्राजस्तो भइरहेको छ, यो उचित छैन’उनले भने ।
‘अहिले नेताहरूको जस्ता गतिविधि गरिरहनु भएको छ, त्यसले उहाँहरू हामीलाई सुदृढ पार्टी दिनुहुन्छ कि खरानीमात्र बुझाउनु हुन्छ भन्ने शंका बढेको छ,’ सांसद झाँक्रीले भनिन्,‘तपाईंहरू एकअर्कामा विरोध गर्नुभन्दा पुस्ता हस्तान्तरणतिर लाग्नुस्।’
सांसद गणेश पहाडीले नेतृत्वले एक ठाउँमा बसेर विधि, प्रक्रिया र प्रणालीभित्र बसेर समस्या समाधान नगरे दोस्रो चरणमा समाधानको विकल्प सहित हस्तक्षेपकारी भूमिका खेल्ने बताए ।
केन्द्रीय सचिवालयका नेताहरू, स्थायी कमिटी सदस्य र मन्त्रीहरूबाहेकले एकताको दबाबका लागि हस्ताक्षर गरेका छन् ।
त्यस्तै, सांसद रामकुमारी झाँक्रीले पार्टी विभाजन गरेर नयाँ दल बनेपनि मुलुक हाँक्ने पार्टी नबन्ने बताइन् ।
उनले नेताहरुले गतिबिधिले नेकपा सुदृढ हुने भन्दा पनि खरानी हुने टिप्पणी गरिन् ।





















