काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताए । उनले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले हामी पछाडि नपरेको बताए । उनले नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताए । उनले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताए । उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए । उनले समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्याउने गरी काम गर्नुपर्ने बताए ।
उनले भने, ‘‘नेपाल पछाडि परेको ऐतिहासिक कारणले हो। हामी हाम्रो जैविक, वातावरणीय रुपले पछाडि परेका छैनौँ । नेपाल समृद्ध बन्नसक्छ । शर्त के हो भने हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनु पर्छ । नेपालको जुन एउटा बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र हो यो नेपालको मौलिकता हो भन्नेकुरालाई पनि स्वीकार्नुपर्छ ।’’
अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताए । नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने उल्लेख गरे ।





















