चितवन । भरतपुर अस्पतालमा एमआरआई मेसिन भित्रिएको छ । ३० करोड रुपैयाँमा खरिद गरिएको मेसिन एक महिनाभित्र सञ्चालन गर्ने तयारी गरिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले सबै उपकरण आईसकेकाले यथासक्य छिटो सञ्चालनमा ल्याउने गरी काम भईरहेको बताउनुभयो । झण्डै डेढ वर्ष पहिला सम्झौता गरेर अहिले मेसिन आईपुगेको हो ।

रु.३० करोड लागतमा उपकरण भित्र्याईएको डा. तिवारीले जानकारी दिनुभयो । अहिले एमआरआई नहुँदा बिरामी निजी अस्पताल रिफर गर्नुपर्ने बाध्यता रहेको छ । उहाँका अनुसार अब बीमा र अन्य बिरामीले अस्पतालमै सेवा पाउने छन् । निजीको तुलनामा न्यून शुल्कमा एमआरआई हुने उहाँले जानकारी दिनुभयो ।
अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा. केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको मेसिन ल्याईएको हो । ‘थ्रि टेस्ला सिक्टीफोर च्यानल’ को यो उपकरण आधुनिक भएको डा. पौडेले बताउनुभयो । उहाँले मुटु, नसा लगायतको परीक्षणमा प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो “अत्याधुनिक उपकरण भएकाले सबै खालका परीक्षण गर्न हामी सक्दछौं ।” दैनिक २० वटासम्म परीक्षण गर्न सकिने डा. पौडेलको भनाई छ ।
अस्पतालमा चितवन सहित २५ जिल्लाबाट बिरामी आउने गर्दछन् । यहाँ दैनिक दुई हजार हाराहारी बिरामी बहिरंग विभागमा आउने गर्दछन् ।






















